सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान

User Image Prime TV News एक महिना अगाडि
Image of सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पुर्पक्षका लागि जेल चलान

काठमाडौ । सुन तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा परेका छन्। जिल्ला अदालत काठमाडौंले बुधबार उनीविरुद्ध थुनछेक आदेश जारी गर्दै कारागार पठाउने निर्णय गरेको हो।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० अनुसार अदालतले प्रस्तुत प्रमाण, अनुसन्धान प्रतिवेदन र साक्षीका बयानको समीक्षा गर्दै महरालाई तत्काल निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको निष्कर्ष निकालेको हो।

अदालतमा पेस भएको प्रतिवेदन अनुसार, महराको चिनियाँ व्यापारी दावजिन वाङसँग लामो समयदेखि पारिवारिक र व्यावसायिक सम्बन्ध रहेको पाइएको छ। दुवैबीचको मिलेमतोमा इसिगरेट (भेप) मार्फत सुन तस्करी गरिएको आरोप छ।

अनुसन्धानका क्रममा महरा, उनका छोरा रेशम (राहुल) महरा र बुहारी विमला महराको मोबाइल नम्बरबाट वाङसँग पटकपटक सम्पर्क भएको प्रमाण भेटिएको छ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेललाई महराले फोन गरी जफत गरिएका सामानबारे भनसुन गरेको समेत प्रमाणित भएको अदालतको आदेशमा उल्लेख छ।

२०७९ फागुन २१ गते भन्सारले जफत गरेको ७३० थान इसिगरेटको आवरणभित्र करिब ९.५ किलो सुन लुकाइएको थियो। उक्त सुनको बजार मूल्य करिब ६ करोड रुपैयाँ बराबर हुने अनुसन्धान प्रतिवेदनमा जनाइएको छ ।