सरकारले पेट्रोलको मूल्य घटायो, डिजेल यथावत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले पेट्रोलको मूल्य घटाउने निर्णय गरेको छ। नेपाल आयल निगमले बिहीबार राति १ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रुपैयाँले घटाएको जनाएको छ। डिजेल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ।
नेपाल आयल निगमले बुधबार भारतीय आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा नयाँ दर तोकेको हो। निगमका अनुसार आइओसीले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको मूल्य अनुसार नेपालका लागि पठाएको दर सस्तो भएकाले पेट्रोलमा कटौती गरिएको हो।
निगमले देशभरका बिक्री क्षेत्रहरूलाई तीन वर्गमा विभाजन गर्दै नयाँ मूल्य लागू गरेको छ।
पहिलो वर्गका क्षेत्रहरू- चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा अब पेट्रोलको मूल्य रु. १५६.५० प्रतिलिटर हुनेछ।
दोस्रो वर्गका क्षेत्रहरू - सुर्खेत र दाङमा पेट्रोलको मूल्य रु. १५८ प्रतिलिटर तोकिएको छ।
तेस्रो वर्गका क्षेत्रहरू- काठमाडौं, पोखरा र दिपायलमा भने पेट्रोलको मूल्य रु. १५९ प्रतिलिटर हुनेछ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट सिधै कच्चा तेल खरिद गर्दैन। निगमले भारतको आइओसीबाट सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ किन्दै आएको छ।
आइओसीले हरेक पन्ध्र दिनमा अन्तर्राष्ट्रिय बजार दरका आधारमा नयाँ मूल्य पठाउँछ, जसमा प्रशोधन खर्च, ढुवानी शुल्क र अन्य खर्चहरू समावेश हुन्छन्। त्यसपछि निगमले भन्सार, कर, ढुवानी लागत, प्रशासनिक खर्च र डिलर कमिसन थपेर अन्तिम उपभोक्ता मूल्य निर्धारण गर्छ।













