सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए इप्पानले आन्दोलन गर्ने चेतावनी

User Image Prime TV News एक महिना अगाडि
Image of सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए इप्पानले आन्दोलन गर्ने चेतावनी

काठमाडौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

पत्रकार सम्मेलन गर्दै इप्पानले २८ महिनादेखि आईपीओ र राइट सेयर निष्काशनमा भएको ढिलाईको कारणले निजी क्षेत्रका लगानीकर्ता निरुत्साहित भएको भन्दै सेयर निष्काशन र लगानीकर्ताले भोगेको समस्या समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

प्रधानमन्त्रीदेखि अर्थमन्त्री, ऊर्जामन्त्री, धितोपत्र बोर्डका प्रमुख तथा प्रतिनीधिहरुसँग भेटघाट तथा पत्राचार गरी ध्यानाकर्षण गराउँदा पनि हालसम्म सुनुवाई नभएको इप्पानका अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

उनले अन्तिम पटक प्रधानमन्त्री, अर्थमन्त्री, ऊर्जा मन्त्री र धितोपत्र बोर्डका अध्यक्षको यथाशिघ्र सेयर निष्काशनका लागि ध्यानाकर्षण गराउने र १५ दिन भित्र सुनुवाइ नभए आन्दोलन गर्ने उल्लेख गरे । सात दिनभन्दा बढी सेवा प्रवाहमा ढिलाई गर्नु अख्तियारको दुरुपयोग मानिने भएकोले समयमै सेयर निष्काशन नगर्दा लगानीकर्ताले गुमाउनु परेको १ खर्ब ८ अर्ब ५० करोड रुपैयाँ बराबरको क्षतिपुर्ति माग्दै अख्तियारमा उजुरी दिन समेत बाध्य हुने इप्पानले जनाएको छ ।

कानूनमा व्यवस्था नभएको निःशुल्क सेयर मागेर  निजी क्षेत्रको लगानीलाई पूर्ण रुपमा निरुत्साहित हुने गरी पछिल्लो समयमा आयोजना निर्माणमा हुन थालेको अवरोधप्रति पनि सरोकारवाला निकायको ध्यानाकर्षण गराइने पनि इप्पानले जानकारी दिएको छ ।

प्रत्येक आयोजनाहरुलाई शान्ति सुरक्षा कायम हुने गरी सुरक्षाकर्मीहरुको व्यवस्थापनका लागि गृह मन्त्रालय, रक्षा मन्त्रालय, स्थानीय पालिका लगायतका सम्बन्धित निकायमा अनुरोध गर्ने इप्पानले जनाएको छ ।