अपदस्त नेताहरूको गतिविधिले सुरक्षा चुनौती थपिएको छ :गृहमन्त्री अर्याल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनपछि सरकारबाट बाहिरिएका दलहरूको गतिविधिबाट सुरक्षा चुनौती थपिएको बताएका छन्।
बुधबार गृहमन्त्रालयमा पत्रकारसँग कुरा गर्दै, उनले शान्ति र सुरक्षा कायम राख्नका लागि सरकारले लगातार काम गरिरहेको भएपनि अपदस्त व्यक्तिहरूबाट नयाँ सुरक्षा चुनौतीहरू देखा परेको बताए । गृहमन्त्री अर्यालले भने, “राष्ट्रिय सुरक्षामा चुनौती थप्ने गतिविधिहरू खासगरी अपदस्त भएका समूहहरूले गरेका छन्। हामी यसलाई निगरानी गरिरहेका छौं र आवश्यक सुरक्षा व्यवस्था गर्न तत्पर छौं।”
अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रवृत्तिहरूको आलोचना गर्दै भने, "उहाँले जसलाई बिस्थापित गर्नुभएको थियो, उनीहरूलाई सुशासन दिन नसकेका कारण अहिले यस्तो अवस्था आएको हो। यो अवश्य सुधार्नुपर्ने विषय हो।"
सुरक्षाकर्मीहरूको अनुशासन र तिनको दुरुपयोगको बारेमा कुरा गर्दै, गृहमन्त्री अर्यालले भने, “हामीले सुरक्षाकर्मीहरूको दुरुपयोग रोक्नका लागि कडा कदम चालेका छौं। कतिपय व्यक्तिहरूले सुरक्षाकर्मीलाई आफ्नो निजी कामका लागि प्रयोग गरेका थिए, जुन अब थामिएको छ। सरकारले अब ती कारवाहीहरूलाई ठोस रूपमा अघि बढाउने छ।”
गृहमन्त्री अर्यालले प्रहरी पोष्टहरू पुनःस्थापना गर्न र भागेका कैदीबन्दीहरूलाई नियन्त्रणमा लिन सरकारको पहल जारी रहेको पनि बताए। साथै, उनले हतियारहरू फिर्ता नगरेका व्यक्तिहरूको विरुद्ध अप्रेसन चलाउने योजना रहेको जानकारी दिएका छन्।













