फागुन २१ मा निर्वाचन हुँदैन: अध्यक्ष ओली
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुन नसक्ने बताए । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको प्रतिगामी सरकार भएको भन्दै निर्वाचन सम्भव नभएको बताए ।
साथै उनले सरकारले चुनाव गराउने बाटो समात्न नसकेको आरोप लगाए । सम्बोधनका क्रममा ओलीले प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको भन्दै पटक पटक सर्वोच्च अदालतको आदेश दिएको स्मरण गर्दै प्रतिगमन निम्त्याएको बताए ।
अध्यक्ष ओलीले देशमा जारी राजनीतिक घटनाक्रमलाई ‘अप्रत्याशित प्रतिक्रान्तिको संकेत’ भन्दै समयमै कदम नचालिए देश ‘प्रतिक्रान्ति र बर्बादीतिर धकेलिने’ चेतावनी दिएका छन्। उनले भने, “आज देश अप्रत्याशित प्रतिक्रान्तिको बाटोमा लागेको छ। यदि हामीले चाँडो रोक्न सकेनौं भने देश बर्बादीको चपेटामा पर्नेछ।”
ओलीले लोकतान्त्रिक मूल्य र सुशासन संरक्षण गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने जोड दिएका छन्। उनले भने, “हामीले लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, भ्रष्टाचारमुक्त र विकासोन्मुख बाटोमा देशलाई अघि बढाउन आवश्यक छ।”
नेकपा एमालेमाथि भइरहेका प्रहारहरू पार्टीका सुदृढ नीतिका कारण भएको ओलीको दाबी छ। उनले स्पष्ट पारे, “हाम्रा नीतिहरू राम्रा छन्, त्यसैले हामी प्रहारको निशानामा परेको छौं, न कि गलत नीतिका कारण।”
ओलीले नेकपा एमालेलाई कम्युनिस्ट आन्दोलनको निरन्तर नेतृत्वकर्ता बताउँदै भने, “एमाले नै कम्युनिस्ट आन्दोलनको मूलधार हो र यसलाई कमजोर बनाउन खोज्ने प्रयास भइरहेको छ।”
उनले देशमा लोकतन्त्र विरोधी र तानाशाही प्रवृत्ति फैलाउने शक्तिहरू सक्रिय रहेको आरोप लगाउँदै राष्ट्रिय स्वाभिमानको विषयमा पार्टीको दृढ अडान दोहोर्याए। “अरूले सिमाना र सार्वभौमसत्ताको कुरा उठाउँदैनन्, तर हामीले उठाउँदा आलोचना गरिन्छ,” उनले भने।
वर्तमान राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको केन्द्रीय बैठक आगामी दुई दिनसम्म चल्नेछ। बैठकमा पार्टीको रणनीति, संगठन सुदृढीकरण र आगामी राजनीतिक कदमहरूबारे व्यापक छलफल हुने जनाइएको छ।
साथै ओलीले भदौ २३ र २४ का विध्वंसात्मक घटनाको बारेमा पहिले नै जानकारी रहेको तर रोक्न नसकेको बताएका छन्। ओलीले संवाददाता सम्मेलनमा भने, "यत्रो घटना हुँदा पनि कसरी थाहा भएन भन्नु हुन्छ साथीहरु, पहिले देखि नै थाहा थियो। चैत १५ गते यस्तै घटना गराउन खोजिएको थिएन?" उनले घटनाहरू रोक्न निरन्तर प्रयास भइरहेको तर यसपटक रोक्न नसकिएको बताएका छन्।
उनले जेनजीको माग र आन्दोलनलाई विध्वंसात्मक ठहर गर्दै त्यसलाई पछिको सरकारसँग नजोड्न आग्रह गरे।













