प्रतिनिधिसभा विघटनमा कांग्रेस र एमालेबीच विवाद: कांग्रेस निर्वाचनको पक्षमा, एमालेले पुनर्स्थापना माग्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभा विघटनको विषयमा नेपाली कांग्रेस र नेकपा एमालेबीच ठुलो मतभेद देखिएको छ। विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले बुधबार सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा गरेको छलफलमा कांग्रेस र एमालेले फरक–फरक धारणा प्रस्तुत गरेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सर्वोच्च अदालतमा यो विषयमा रिट परेको र सर्वोच्चको निर्णयलाई सम्मान गर्दै कांग्रेसले निर्वाचनमा जाने तयारी थालेको बताए। उनले भने, “हामीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छौं, तर लोकतान्त्रिक पार्टी भएकाले निर्वाचनबाट भाग्ने होइनौं। सर्वोच्चको आदेशलाई हामीले मान्नेछौं।”
त्यसैगरी, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भने अहिले देश संवैधानिक बाटोबाट बाहिर गएको बताउँदै प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक भएको बताए। उनले थपे, “सरकार निर्वाचन गराउन सक्ने अवस्थामा छैन। गृह प्रशासन दलका नेताहरूसँग मिलेर काम गरिरहेको छ। राजनीतिक दलहरूले स्वतन्त्र रूपमा जनतासँग जाने वातावरण छैन। यसकारण प्रतिनिधिसभा पुनर्स्थापना हुनु आवश्यक छ।”
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने आफूहरू निर्वाचनको तयारीमा रहेको र पार्टीले चुनावमा जान सक्ने निर्णय गरिसकेको जानकारी दिएका छन्। सभामुख देवराज घिमिरेले आगामी कदम तय गर्न राजनीतिक दलहरूबाट राय संकलन गर्ने उद्देश्यले यो बैठक बोलाएका थिए।













