मधेश प्रदेशमा लोसपाको नेतृत्वमा पाँच दलीय सरकार गठनको तयारी, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने पक्का
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को नेतृत्वमा नयाँ सरकार गठनको तयारी अन्तिम चरणमा पुगेको छ।
लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बन्ने सहमति पाँच दलीय गठबन्धनबीच जुटेको छ। जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपाबीच भएका बैठकहरूमा सरकार गठनबारे सहमति भएको हो। लोसपाका अध्यक्ष महन्थ ठाकुरको विशेष उपस्थितिमा बसेको बैठकले जितेन्द्र सोनललाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
यसअघि मुख्यमन्त्री रहेका जनमत पार्टीका सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए। त्यसपश्चात प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको दाबी गर्न आह्वान गरेकी थिइन्। आह्वानको जवाफस्वरूप पाँच दलका नेताहरूले ५६ जना सांसदको समर्थनसहित नयाँ सरकार गठनको दाबी पेश गर्ने तयारी गरेका छन्।
१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। गठबन्धनमा रहेका दलहरूमा जसपा १९, जनमत १३, माओवादी केन्द्र ९, लोसपा ९ (१ सांसद निलम्बनमा), एकीकृत समाजवादी ७ जना सांसद सख्या रहेको छ । सहमतिको आधारमा सरकार गठनको दाबी आज असोज २९ गते दिउँसो ४ बजेसम्म पेश गरिनेछ।
सत्तारूढ गठबन्धनबीच सरकार नेतृत्वमा सहमति भए पनि मन्त्रालयको बाँडफाँटबारे छलफल जारी रहेको बताइएको छ। मन्त्रालयको संख्या, विभागको जिम्मेवारी र भागबण्डाबारे थप छलफल हुने बताइएको छ ।













