विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु

काठमाडौ । विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा इजरायलस्थित नेपाली दूतावासका प्रतिनिधिले तेल अविभस्थित नेशनलसेन्टरफरफरेन्सिकमेडिसिन भ्रमण गरी विपिन जोशीको शवको पहिचान पुनः पुष्टि गरेको र नेपाल पठाउने तयारी अगाडि बढाइएको उल्लेख गरिएको छ।

मन्त्रालयका अनुसार विपिनको शव नेपाल ल्याइसकेपछि उनको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा इजरायल, रेडक्रस र अन्य सरोकारवालासँग समन्वय गरी सत्यतथ्य पत्ता लगाउने प्रक्रिया अघि बढाइनेछ।

साथै परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बिमा तथा सुविधा सुनिश्चित गर्न नेपाल सरकारले पहल जारी राख्ने जनाएको छ।

परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलका परराष्ट्र मन्त्रालयका निर्देशक जनरल एडेन बार तलसँग टेलिफोन वार्ता गरी जोशीको निधनको औपचारिक जानकारी प्राप्त गरेको मन्त्रालयले जनाएको छ।

हमास र इजरायलबीच दुई वर्ष लामो युद्धविराम पश्चात् सोमबार रेडक्रसमार्फत जोशीको शव इजरायली पक्षलाई हस्तान्तरण गरिएको थियो।

२०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि इजरायलको सिक्दैकमाउँदै कार्यक्रममा सहभागी नेपाली विद्यार्थी विपिन जोशी हमासको नियन्त्रणमा परेका थिए।

उनको सकुशल मुक्तिको लागि नेपाल सरकारले सुरुदेखि विभिन्न तहबाट कूटनीतिक प्रयास गरे पनि अन्ततः दुई वर्षपछि उनको मृत्युको पुष्टि भएको हो।