कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएको हस्ताक्षर भोली बुझाउने

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएको हस्ताक्षर भोली बुझाउने

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग औपचारिक चरणमा पुगेको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र बनेका बेला हस्ताक्षर संकलन अभियानका प्रतिनिधिहरूले भोलि कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

आजै बुझाउने तयारी भए पनि अन्तिम तयारी अपूरो रहेकाले अब भोलि मात्रै केन्द्रीय कार्यालय सानेपामा हस्ताक्षर बुझाइने भएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा डा. शेखर कोइराला निकट नेताहरूले विशेष महाधिवेशन माग गर्दै देशभरका प्रतिनिधिबाट हस्ताक्षर संकलन गरेका हुन्।

उक्त अभियानमा हालसम्म कुल प्रतिनिधिमध्ये ५४.५८ प्रतिशत अर्थात् २,४८७ जनाले समर्थन जनाएका छन्। कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन आह्वान गर्न ४० प्रतिशत प्रतिनिधिको समर्थन आवश्यक हुन्छ। १४औँ महाधिवेशनमा ४,७४३ प्रतिनिधि भए पनि पार्टी परित्याग र मृत्युका कारण हाल ४,५५६ प्रतिनिधि मात्र सक्रिय छन्।

महामन्त्रीद्वयले मंसिरसम्म नियमित महाधिवेशन नभए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अडान लिएका छन्। तर सभापति शेरबहादुर देउवाले भने आजदेखि उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि संस्थापन पक्षले हस्ताक्षर अभियानप्रति असन्तुष्टि व्यक्त गरेको छ।