मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

User Image Prime TV News एक महिना अगाडि
Image of मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौ । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु गरिएको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतको आधारमा सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी छन्।

सोमवार जारी विज्ञप्तिमा प्रदेश प्रमुख सुवेदीले इच्छुक दल वा गठबन्धनले असोज २९ गते अपराह्न ४ बजेसम्म सरकार गठनको दाबी पेश गर्न अनुरोध गरेकी हुन्। यसअघि आजै, मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट राजीनामा दिएका थिए।

सिंह लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका थिए। उनले संसदमा पर्याप्त बहुमत कायम राख्न नसकेको भन्दै पद त्याग गरेका हुन्। प्रदेश सरकार प्रमुखको राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाइएको हो। अब प्रदेशसभामा रहेका दलहरूबीच बहुमतीय समर्थन जुटाउन कसरत तीव्र हुने अनुमान गरिएको छ।

प्रदेश सभामा प्रमुख दलहरूमा नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र अन्य साना दलहरू रहेका छन्। मुख्यमन्त्री सिंहको राजीनामापछि मधेस प्रदेशमा नयाँ सत्ता समीकरणको खोजी सुरु भइसकेको छ। दलहरूबीच गठबन्धन निर्माणका लागि संवाद भइरहेको बताइएको छ ।

यदि निर्धारित समयभित्र कुनै दल वा गठबन्धनले बहुमत देखाएर सरकार गठनको दाबी गर्न सकेन भने, संविधानको धारा १६८ को अर्को उपधारा अनुसार सरकार गठनको वैकल्पिक प्रक्रिया अघि बढ्नेछ।