देउवाको प्रतिबद्धता: जीवनभर राष्ट्र र जनताको सेवामा समर्पित रहनेछु
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो बाँकी जीवन राष्ट्र र जनताको सेवा तथा हितमा समर्पित रहने प्रतिवद्धता जनाएका छन्।
मंगलबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै देउवाले लोकतन्त्र, मानवअधिकार र जनताको अधिकारका लागि आफूले विगतमा गरेका संघर्षहरूको स्मरण गरे।
"मैले जीवनको लामो समय जनताको हक अधिकारका लागि संघर्ष गर्दै बिताएको छु। आगामी दिनमा पनि देश र जनताको सेवामा समर्पित रहने छु," देउवाले भने।
उनले हालैको जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकार र त्यसपछि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको मिति उल्लेख गर्दै चुनावका लागि आवश्यक वातावरण अझै बन्न नसकेको स्पष्ट पारे।
"निर्वाचनको मिति तोकिए पनि विश्वासिलो वातावरण निर्माण हुन सकेको छैन," देउवाले भने, "सबै पक्षको सहकार्य र पारदर्शिताबाट मात्रै स्वच्छ निर्वाचन सम्भव छ।"
बैठकमा उनले पार्टीभित्रको एकता, लोकतान्त्रिक मूल्य र आगामी रणनीतिबारे पनि चर्चा गरेका थिए।













