गृहमन्त्रीको चेतावनी: 'राज्य म हुँ' सोच अब सह्य छैन
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नरहे पनि आफैँलाई राज्यसरह प्रस्तुत गर्ने प्रवृत्तिमाथि कडा टिप्पणी गर्दै यस्ता विकृत अभ्यासहरूको ‘मौलिक तरिकामा उपचार’ गरिने चेतावनी दिएका छन्।
आज अछामका मदन बुढाले राखेको आमरण अनशन तोडाउने क्रममा बोल्दै गृहमन्त्री अर्यालले सत्ताबाट बाहिरिएपछि पनि म नै राज्य हुँ भन्ने शैलीमा व्यवहार गर्ने व्यक्तिहरूको आलोचना गरे।
“सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हुँ जस्तो जुन खालको आइरहेको थियो, त्यो सरकारले अर्गानिक वेमा ट्रिटमेन्ट गरिरहेको छ,” मन्त्री अर्यालले भने, “त्यो विकृति हो, त्यो रोग हो । त्यसको उपचार मौलिक तरिकाबाट गरिरहेका छौं हामी।”
गृहमन्त्री अर्यालको यो भनाइ पूर्वसत्तामा रहेका केही नेताहरूलाई लक्षित गरिएको संकेत गरेको छ । उनले सरकार परिवर्तन भइसकेको स्पष्ट पार्दै बाँकी सत्ता अझै पनि केही व्यक्तिहरूकहाँ जस्तो देखिनु आफैंमा समस्या भएको उल्लेख गरे।
सुदूरपश्चिमको मागलाई लिएर अनशन बसेका बुढाको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सरकारका तर्फबाट गृहमन्त्री अर्याल आफैं उपस्थित भएर अनशन तोडाएका थिए। बुढाले सुदूरपश्चिमबाट संघीय सरकारमा सशक्त प्रतिनिधित्व हुनु पर्ने माग गर्दै विगत केही दिनदेखि अनशन बसिरहेका थिए।













