नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज, जेनजी आन्दोलन पछि देउवा पहिलो पटक सार्वजनिक हुँदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। हालैको जेन-जी आन्दोलनपछि बदलिएको राजनीतिक वातावरण र पार्टीको आगामी रणनीति तय गर्न बैठक आह्वान गरिएको हो।
आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गतेको आक्रमणमा घाइते भएका सभापति शेरबहादुर देउवा बैठकमा सहभागी हुने भएका छन्। आक्रमणपश्चात् देउवा पहिलो पटक सार्वजनिक रूपमा देखिँदै छन्। उनी यसअघि बसेको पार्टी पदाधिकारी बैठकमा सहभागी भएका थिएनन्।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार जेन-जी आन्दोलनले सिर्जना गरेको नयाँ राजनीतिक परिस्थितिमा कांग्रेसले अपनाउने रणनीति र पार्टीभित्रका आन्तरिक विवाद समाधानका विषयमा बैठकमा विस्तृत छलफल हुनेछ।
बैठकका एजेण्डा भने अझै टुंगो लाग्न बाँकी छ। मंसिरभित्रै १५औँ महाधिवेशन गर्ने प्रस्तावबारे महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको धारणा र नेतृत्वपक्षबीच सहमति जुट्न नसक्दा एजेण्डा अन्तिम रूप पाउन सकेको छैन।
एजेण्डा टुंग्याउन आजै बिहान ११ बजे कार्यसम्पादन समिति बैठक बस्दैछ। त्यसपछि दिउँसोको केन्द्रीय समिति बैठकमा त्यसलाई पेश गरिनेछ।













