हमासले पहिलो चरणमा ७ बन्धक रिहा गर्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्यालेस्टिनी संगठन हमासले इसराइली बन्धकहरूको रिहाइ प्रक्रिया सुरु गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार, पहिलो चरणमा हमासले ७ जना बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसको जिम्मा लगाएको छ। यद्यपि, ती बन्धकहरूको नाम हालसम्म सार्वजनिक गरिएको छैन।
यसपटक बन्धक रिहा प्रक्रिया अघिल्ला घटनाहरूभन्दा फरक ढंगले सम्पन्न हुने भएको छ। सिएनएनका अनुसार, हमासले यसपटक बन्धकहरूलाई सार्वजनिक रुपमा लडाकुहरूको भिडमार्फत छाड्ने पुरानो शैली अपनाउने छैन। अघिल्लोपटकको प्रचारात्मक शैलीलाई लिएर इसराइलले कडा आपत्ति जनाएको थियो।
इसराइली अधिकारीहरूका अनुसार गाजामा रहेका २० जना जीवित बन्धकहरूलाई रेडक्रसमार्फत इसराइली भूमिमा ल्याइनेछ। बन्धकहरूलाई सुरक्षित रूपमा इसराइल ल्याएपछि उनीहरूलाई परिवारसँग पुनर्मिलन गराइनेछ । रिहाइ संगै उनीहरुलाई आवश्यक स्वास्थ्य परीक्षण तथा उपचारका लागि विभिन्न अस्पतालहरूमा लगिनेछ।
यस्तै मृत अवस्थामा फर्काइएका बन्धकहरूको शव ७२ घण्टाभित्र फिर्ता ल्याइनेछ। इसराइलले तिनीहरूको सम्मानमा विशेष समारोह आयोजना गर्ने जनाएको छ। सम्झौता अन्तर्गत, इसराइलले हमासबाट बन्धकहरू पाएको बदलीमा २५० जना आजीवन कारावासी प्यालेस्टिनी बन्दी र सन् २०२३ को अक्टोबर ७ पछि पक्राउ परेका १७०० कैदीहरूलाई रिहा गर्ने जनाएको छ।













