रसुवागढी–केरुङ नाका सञ्चालनमा ल्याउने तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of रसुवागढी–केरुङ नाका सञ्चालनमा ल्याउने तयारी

काठमाडौ । रसुवास्थित नेपाल–चीन सीमाको लेन्देखोलामा चीनले निर्माण गरिरहेको बेलिब्रिज अन्तिम चरणमा पुगेको छ । अब दुई सातामा बेलिब्रिजको निर्माण सम्पन्न गरेर रसुवागढी–केरुङ नाका सञ्चालनमा ल्याउने तयारी रहेको छ ।

यससम्बन्धी सबै काम चीनले नै गरिरहेको छ ।  गत २४ असारमा चीनतर्फबाट आएको बाढीले नाकामा रहेको १० मिटर चौडाइ र एक सय मिटर लामो मितेरी पुल बगाएको थियो । त्यसपछि रसुवागढी–केरुङ नाका बन्द अवस्थामा छ ।

नेपाल र चीनबिच हुने व्यापारका लागि रसुवागढी–केरुङ नै प्रमुख नाका थियो । तर, बाढीले पुल बगाएपछि नेपाल र चीनको व्यापार तीन महिनादेखि प्रभावित भएको छ । दुवैतर्फ कन्टेनेरहरू रोकिएका छन् ।

त्यसपछि वैकल्पिक रूपमा मुस्ताङको कोरला नाका खुला गरिए पनि प्रभावकारी बन्न सकेको छैन । रसुवागढी नाका बाढीबाट प्रभावित भएलगत्तै चीनले बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाएको थियो । आवश्यक तयारी गरेर गत २७ भदौबाट बेलिब्रिज जडानका काम सुरु गरिएको थियो, जुन अहिले अन्तिम चरणमा पुगिसकेको छ ।

कात्तिकको पहिलो हप्ताभित्रै बेलिब्रिजको निर्माण सम्पन्न गरेर नाका सञ्चालनमा ल्याउने तयारी रहेको छ । नाका सञ्चालनमा आएपछि चीनतर्फको व्यापार सहज हुनेछ ।  बेलिब्रिजको लम्बाइ ९० मिटरको हुनेछ । पुलको भारवहन क्षमता भने ५५ टन हुनेछ ।