सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरामाथि अनुसन्धान सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोरामाथि अनुसन्धान सुरु

काठमाडौ । विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करीको सनसनीपूर्ण प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन र उनका छोराहरू मुछिएका छन्। प्रहरीले पुनमाथि अहिले औपचारिक रूपमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

यसै प्रकरणमा माओवादी केन्द्रका अर्का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आइतबार पक्राउ परिसकेका छन्। उनीमाथि चिनियाँ संगठित गिरोहसँग मिलेमतो गरी सुन तस्करी गरेको आरोपमा अनुसन्धान भइरहेको छ।

पुनमाथि पनि चिनियाँ समूहसँग आर्थिक लेनदेन र सम्बन्ध भएको आशङ्कामा प्रहरी अनुसन्धान विस्तार गरिएको हो। पुन र उनका परिवारका सदस्यहरूका कारोबार र सम्पर्कहरूको वित्तीय ट्र्याकिङ समेत सुरु भएको जानकारी दिएका छन्।

दुई वर्षअघि उनका जेठा छोरा जितेन्द्र पुनले शक्तिको दुरुपयोग गर्दै हुम्लाबासीको कागजात बनाएर सीमा वारपार गर्ने परिचयपत्र गृह मन्त्रालयबाट तयार गराएको पाइएको थियो।

त्यसपछि उनले हुम्ला हुँदै चीनको ताक्लाकोट पुगेर चिनियाँ टोलीसँगतमसुक गरेर चार किलो सुन बुझेकोसमाचार सार्वजनिक भएको थियो। सुनको भुक्तानी रकम नदिएपछि त्यो प्रकरण बाहिरिएको बताइन्छ।

जितेन्द्र पुन हाल अमेरिकामा रहेका छन् भने कान्छा छोरा दीपेश पुन पनि सुन तस्करी, सहकारी ठगी र भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा फरार छन् ।