पाकिस्तान–अफगानिस्तान सीमामा भीषण गोली हानाहान, दर्जनौं सैनिक मारिए

User Image Prime TV News एक महिना अगाडि
Image of पाकिस्तान–अफगानिस्तान सीमामा भीषण गोली हानाहान, दर्जनौं सैनिक मारिए

काठमाडौ । पाकिस्तान र अफगानिस्तानबीचको सीमामा शनिबार राति भएको भीषण गोली हानाहानमा दुवै देशका दर्जनौं सैनिक मारिएका छन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स का अनुसार पाकिस्तानका २३ जना र अफगानिस्तानका ९ जना सैनिक मारिएका छन्। तर दुवै पक्षले एकअर्काको तथ्यांक अस्वीकार गर्दै मृतक संख्या धेरै भएको दाबी गरेका छन्।

पाकिस्तानले २०० अफगानी सैनिक मारिएको बताएको छ भने अफगानिस्तानले ५९ पाकिस्तानी सैनिक मारिएको दाबी गरेको छ। यी दाबीहरूको स्वतन्त्र पुष्टि भएको छैन।

भिडन्त सीमावर्ती खोस्त, पक्तिका, कुनर, नान्गारहार, पक्तिया र हेलमण्ड क्षेत्रमा भएको बताइएको छ। अफगान अधिकारीहरूले भिडन्त राति करिब १२ बजे अन्त्य भएको जानकारी दिएका छन्।

अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोराजमीका अनुसार पाकिस्तानले गत साता अफगान हवाई क्षेत्र उल्लंघन गरी काबुलमा आक्रमण गरेको आरोप लगाइएको थियो।

तालिबानले तीनवटा पाकिस्तानी सीमा चौकी नियन्त्रणमा लिएको दाबी गरेको छ भने पाकिस्तानले पनि कैयौं अफगानी चौकी नष्ट पारिएको जनाएको छ।

कतार र साउदी अरबले तत्काल युद्धविराम र संवादमार्फत विवाद समाधान गर्न दुवै देशलाई आग्रह गरेका छन्। काबुलले उक्त आग्रहपछि सीमामा गोलीबारी रोकिएको जनाएको छ।