जेनजी आन्दोलनका बेला फरार कैदी अझै खोजीमा, विभागले अन्तरदेशीय समन्वय बढायो

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजी आन्दोलनका बेला फरार कैदी अझै खोजीमा, विभागले अन्तरदेशीय समन्वय बढायो

काठमाडौ । कारागार व्यवस्थापन विभागले जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न जेलबाट फरार भएका कैदीबन्दीहरूको नयाँ विवरण सार्वजनिक गरेको छ।

विभागका अनुसार गत भदौ २४ गतेको आन्दोलनका बीच भागेका मध्ये हालसम्म ९ हजार ८ जना पुनः कारागार फर्किएका छन् भने ५ हजार ५ सय ४७ जना अझै फरार छन्।

जेनजी आन्दोलनको समयमा देशका धेरैजसो जेलमा हिंसात्मक घटना, आगजनी र तोडफोड भएका थिए। त्यस अवसरमा कैदीबन्दीहरूले प्रहरी नियन्त्रण कमजोर रहेको बेला भाग्न सफल भएका थिए।

विभागका प्रवक्ताका अनुसार फरार कैदीहरूलाई पक्राउ गर्न देशभरका सुरक्षा निकायहरू परिचालन गरिएको छ र सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ।

हामीले भारतसहितका छिमेकी देशहरूसँग पनि सूचना आदानप्रदान सुरु गरेका छौं,” विभागका एक वरिष्ठ अधिकृतले बताएका छन्, “कसैले पनि कानूनी दायित्वबाट उम्कन सक्दैन।

विभागले फरार कैदीहरूलाई स्वेच्छाले आत्मसमर्पण गर्न आग्रह गरेको छ। आत्मसमर्पण गर्नेहरूलाई कानूनी प्रावधानअनुसार केही सहुलियत दिने तयारी भइरहेको पनि बताइएको छ।

जेल तोडफोड र फरार घटनापछि सरकारले देशभरका कारागारमा सुरक्षा पुनरावलोकन गर्ने निर्णय गरेको छ। यसका लागि गृह मन्त्रालयले संयुक्त अनुगमन टोली गठन गरी सबै जेलको अवस्था प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।