शेयर वजारमा उल्लेखनीय गिरावट, कारोबार रकममा भने वृद्धि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आइतबार नेपाल धितोपत्र बजारमा उल्लेखनीय गिरावट देखिएको छ। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ७८.८३ अंकले घट्दै ३.०५ प्रतिशतले घटेर २५०३.३५ विन्दुमा बन्द भएको हो। लगातारको वृद्धि पछि आइतबार बजारमा आएको यो गिरावटले लगानीकर्तामा केही निराशा देखिएको छ।
बजार घटेपनि यसदिन कुल कारोबार रकम भने बढेको छ। बिहीबारको तुलनामा आइतबार एक अर्ब ४३ करोड रुपैयाँले बढी सेयर कारोबार भएको छ। आइतबार ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो । जबकि गत बिहीबार कारोबार रकम ५ अर्ब २७ करोड ३२ लाख रुपैयाँमा सीमित थियो। कारोबार रकममा आएको यो वृद्धि बजारमा अझै सक्रियता रहेको सङ्केतका रूपमा हेरिएको छ।
लगानीकर्ताहरूले लामो समयदेखि सेयरधितो कर्जाको सीमा हटाउन माग गर्दै आएका थिए। राष्ट्र बैंकले गत बुधबार उक्त सीमा हटाएको थियो। सो निर्णयले बजारमा प्रारम्भिक समयमा उत्साह ल्याए पनि यसको प्रभाव स्थायी रूपमा देखिन सकेन। बिहीबारको पहिलो घण्टामा सकारात्मक प्रभाव देखिए पनि आइतबार दिनभर बजार घट्ने क्रममा रह्यो।
आइतबार ९ कम्पनीको सेयर मूल्य बढेको छ भने २४१ कम्पनीको मूल्य घटेको छ। तीमध्ये पाँच कम्पनीको सेयर मूल्य आठ प्रतिशतभन्दा बढीले घटेको छ। ती कम्पनीहरूमा बुटवल पावर कम्पनी, नेपाल पुनर्बिमा कम्पनी, राधी विद्युत् कम्पनी, सीइडीबी होल्डिङ लिमिटेड र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी पर्छन्।
यसदिन नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सबैभन्दा बढी कारोबार भएको छ। यस कम्पनीको ३८ करोड सात लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । जसले बजारमा लगानीकर्ताको ध्यान यो कम्पनीतर्फ केन्द्रित भएको देखाउँछ। कारोबारमा आएका १३ वटै समूहका परिसूचक घटेका छन् ।













