विश्वकप छनोटमा पोर्चुगल विजयी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विश्वकप छनोटमा पोर्चुगलले आयरल्यान्डलाई १–० गोलअन्तरले हराएको छ । विश्वकप छनोटको युरोपेली क्षेत्र समूह ‘एफ’को खेलमा पोर्चुगलले सुरुदेखि अन्त्यसम्म खेलमा प्रभुत्व जमायो । ७० प्रतिशत बल आफनो नियन्त्रणमा राखेपनि पोर्चुगलले त्यसअनुसार गोल भने गर्न सकेन ।
कप्तान क्रिस्टियानो रोनाल्डो पनि खासै प्रभावशाली देखिएनन्। उल्टै दोस्रो हाफमा पाएको पेनाल्टी पनि उनले खेर फाले । ७५औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो। रोनाल्डोले गोलरक्षक कोइभिन केलेहरलाई विपरीत दिशामा पठाएका थिए।
तर, आयरिस गोलरक्षकले अन्तिम क्षणमा खुट्टा उठाएर बल रोक्दै सानदार बचाउ गरे। यो पेनाल्टी मिससँगै रोनाल्डोले फुटबल इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने नयाँ रेकर्ड बनाए। खेल निर्धारित ९० मिनेटसम्म गोलरहित रह्यो।
तर, इन्जुरी समयको पहिलो मिनेटमा रुबेन नेभेस नायक बने। दिवंगत साथी जोटाको २१ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिएका अल हिलालका यो मिडफिल्डरले हेडरमार्फत निर्णायक गोल गरे। यो गोलसँगै उनले पोर्चुगलको जर्सीमा पहिलो पटक गोल गर्न सफल भएका हुन्।
यस जितसँगै पोर्चुगलले विश्वकप छनोटको तीनै खेल जित्दै पूर्ण ९ अंकसहित समूह ‘एफ’को शीर्ष स्थान कायम राखेको छ। दोस्रो स्थानमा रहेको हंगेरीले समान खेलबाट ४ अंक जोडेको छ।













