नेविसंघद्वारा मेयर बालेन र सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन र ‘हामी नेपाल’ संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीमा उजुरी दिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलनका क्रममा घटेको अप्रिय घटनाको छानबिनको माग गर्दै नेविसंघले काठमाडौं र ललितपुरका जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको हो ।
नेविसंघले आन्दोलनका नाममा विद्यार्थीहरूलाई उक्साएर हिंसात्मक गतिविधिमा संलग्न गराएको, आगजनी र तोडफोडमार्फत राष्ट्रिय सम्पदामा क्षति पुर्याएको तथा सरकारी र निजी सम्पत्तिमा लुटपाट गराएको आरोप लगाएको छ। उक्त उजुरी नेविसंघका केन्द्रीय सदस्यहरू मनीषजंग थापा, अशोकसिंह विष्ट र विजय शाहले दर्ता गरेका हुन्। उनीहरूले २४ घण्टाभित्र बालेन शाह र सुदन गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गर्न माग गरेका छन्।
यसअघि आन्दोलनमा दमन गरिएको आरोप लगाउँदै सुदन गुरुङसहितका युवाहरूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतविरुद्ध पनि उजुरी दिएका थिए। त्यसपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले समेत सुदन र उनका सहयोगीहरूविरुद्ध उजुरी दिएको थियो।













