राप्रपामा नेतृत्वको विरोध चर्कियो, महामन्त्री राणाले असन्तुष्ट पक्षको बैठक बोलाए

User Image Prime TV News एक महिना अगाडि
Image of राप्रपामा नेतृत्वको विरोध चर्कियो, महामन्त्री राणाले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र आन्तरिक विवाद चर्किंदै गएको छ। पार्टीका महामन्त्री धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक आइतबारका लागि बोलाएका छन्। बैठक काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा दिउँसो बस्ने बताइएको छ ।

बैठकमा मुख्य चार एजेन्डामाथि छलफल हुने छ। बैठकमार्फत नियमित महाधिवेशनको माग गर्दै दबाब दिने तयारी गरिएको छ। साथै, महाधिवेशन समयमै सम्भव नभए विशेष महाधिवेशनको माग अघि सारिने भएको छ।

राप्रपाको विधानअनुसार आउँदो मंसिरभित्र महाधिवेशन सम्पन्न गर्नुपर्नेछ। तर नेतृत्वले आवश्यक तयारी नगरेको भन्दै असन्तुष्ट पक्षले आलोचना गर्दै आएको छ।

बैठकको अर्को प्रमुख एजेन्डा भनेको अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको माग हो। लिङ्देनले अनुशासन समितिका संयोजक नवराज सुवेदीको स्थानमा रोशन कार्कीलाई नियुक्त गरेका थिए। त्यस्तै, उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती र केन्द्रीय सदस्य धनसुर शाहीलाई पदमुक्त गरिएको थियो।

यी निर्णयपछि राप्रपा दुई पक्षमा विभाजित भएको छ। असन्तुष्ट पक्षले नेतृत्वको निर्णयलाई अलोकतान्त्रिक भन्दै निर्वाचन आयोगसम्म उजुरीसमेत दिएका छन्।