विवेकशील साझा पार्टीको आह्वान: वैकल्पिक शक्ति निर्माणका लागि जेनजी आन्दोलनसँग सहकार्यको ढोका खुला
Prime TV News एक महिना अगाडि 
काठमाडौ । विवेकशील साझा पार्टीले वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य र एकताको अभियान सुरु गर्दै समृद्ध नेपालका लागि नयाँ पुस्ताको आन्दोलनसँग हातेमालो गर्ने संकेत दिएको छ। पार्टीका प्रवक्ता आशुतोष प्रधानद्वारा जारी वक्तव्यमा, हाल देशमा व्यापक असन्तोषका बीच उभिएको जेनजी आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै त्यसबाट निर्माण भएको सुशीला कार्की नेतृत्वको सरकारलाई समर्थन गर्ने घोषणा गरिएको छ।
“वैकल्पिक राजनीतिक शक्ति, नयाँ दलहरू, जेनजी आन्दोलनका अभियन्ता तथा समूहहरूसँग कार्यगत सहकार्य, ध्रुवीकरण र बृहत् एकीकरणका सबै ढोका खुला छ,” वक्तव्यमा उल्लेख छ।
उनले यस अभियानमा इच्छुक सबै सरोकारवालालाई खुला छलफल र बहसमार्फत नयाँ शक्ति निर्माणमा सहभागी हुन आमन्त्रण गरेका छन्। विवेकशील साझा पार्टीले विगतमा व्यावहारिक, पारदर्शी र युवामैत्री राजनीतिको अभियान चलाउँदै आएको स्मरण गराउँदै, हाल उदीयमान युवा आन्दोलनसँगको सहकार्यलाई “राजनीतिक संस्कार र प्रणालीको रूपान्तरणका लागि निर्णायक मोर्चाका रूपमा लिएको बताएको छ।
साथै, पार्टीले आउँदो २१ फागुनमा घोषणा गरिएको निर्वाचनमा सक्रिय सहभागिता जनाउने घोषणा गर्दै वैकल्पिक राजनीतिमा जनताको विश्वास बढाउन चुनावलाई सशक्त माध्यमको रूपमा प्रयोग गर्ने बताएको छ।













