नेपालले आज यूएई सँग प्रतिस्पर्धा गर्दै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोटको सुपर–६ चरणमा नेपाल आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग आमनेसामने हुँदैछ। ओमानको अल अमिरेत मैदानमा खेल हुँदै छ ।
नेपालले समूह ‘बी’का दुवै खेलमा जित निकाल्दै सुपर–६ मा प्रवेश गरेको हो। पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो भने दोस्रो खेलमा जापानलाई पाँच विकेटले पराजित गरेको थियो। लगातार जितपछि कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोली उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ।
यूएई पनि समूह चरणमा अपराजित रहँदै सुपर–६ मा पुगेको टोली हो। उसले कतारलाई सात विकेटले र मलेसियालाई छ विकेटले हराएको थियो। दुवै टोली अपराजित भएकाले आजको भिडन्त ‘फाइनल सरह’ हुने अनुमान गरिएको छ।
सुपर–६ चरणमा नेपालले यूएईसँगै ओमान, कतार र समाओसँग प्रतिस्पर्धा गर्नेछ। जापान नेपालकै समूह ‘बी’बाट सुपर–६ मा पुगेको भए पनि, नियम अनुसार एकै समूहका टोलीले पुनः खेल्ने छैनन्।
यस क्षेत्रीय छनोटबाट शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलंकामा हुने ट्वान्टी–२० विश्वकपमा स्थान पाउनेछन्।
नेपालले यसअघि दुईपटक ट्वान्टी–२० विश्वकप खेलेको छ। सन् २०१४ मा बंगलादेशमा र सन् २०२४ मा अमेरिका तथा वेस्ट इन्डिजमा। अहिलेको टोलीले तेस्रोपटक विश्वकप यात्राको खोजी गरिरहेको छ।













