जेनजी आन्दोलनको संदेश: लोकतान्त्रिक जिम्मेवारीबाट भागेर होइन, सहभागिताबाट देश बदलिन्छ

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजी आन्दोलनको संदेश: लोकतान्त्रिक जिम्मेवारीबाट भागेर होइन, सहभागिताबाट देश बदलिन्छ

काठमाडौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरी जेनजी आन्दोलनका प्रतिनिधिहरुले सबै राजनीतिक दल र नागरिकलाई लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागी हुन आह्वान गरेका छन्।

राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री सुशीला कार्की र मन्त्रिपरिषद्का सदस्यहरुसँगको छलफलपछि आन्दोलनका प्रतिनिधिहरुले पत्रकारहरूसँग कुरा गर्दै देशको राजनीतिक स्थायित्व र नयाँ पुस्ताको नेतृत्व उदाउने अवसर यही निर्वाचनले दिने बताएका छन्।

जेन–जीका प्रतिनिधि मिराज ढुङ्गानाले भने, “लोकतन्त्रलाई मजबुत बनाउन भाग लिनु नै पहिलो जिम्मेवारी हो। निर्वाचन डर होइन, अवसर हो। जनताले छाने भने जोसुकै पनि नयाँ शक्ति बन्न सक्छ।”

ढुङ्गानाले वर्तमान मन्त्रिपरिषदमा सडक आन्दोलनमा योगदान दिने पात्रलाई समावेश गर्नुपर्ने सुझाव पनि दिएका छन्। उनका अनुसार आन्दोलनको मूल उद्देश्य नै पुरानो राजनीतिक सोच परिवर्तन गरी नयाँ सोचका नेताहरूलाई अघि ल्याउने हो।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा भएको सर्वदलीय छलफलमा प्रमुख दलका नेताहरूले शान्ति सुरक्षा, निष्पक्ष वातावरण र मतदाताको स्वतन्त्रताको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। सरकारका तर्फबाट भने सबै दललाई चुनावमा सहभागी हुन आग्रह गरिएको थियो।

जेन–जी आन्दोलनका नेताहरूले भने यस पटकको निर्वाचनलाई “नयाँ पुस्ताको राजनीतिक परीक्षा” भन्दै सबै युवालाई मतदानमार्फत परिवर्तनको बाटो रोज्न आह्वान गरेका छन्।