राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या, अवस्था स्थिर
Prime TV News एक महिना अगाडि 
काठमाडौ। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ। शनिबार दिउँसो अचानक अस्वस्थ भएपछि उनलाई महाराजगन्जस्थित उक्त अस्पतालमा लगिएको हो।
राष्ट्रपति भवन शीतल निवासमा ‘जेनजी’ प्रतिनिधिसँग प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा जारी छलफलकै बीचमा पौडेललाई अस्वस्थता महसुस भएपछि छलफल छोट्याई अस्पताल पुर्याइएको बताइएको छ।
अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उहाँलाई उपचारका लागि सेन्टरमा भर्ना गरिएको हो। हाल उहाँको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था सामान्य रहेको जानकारी गराउँदछौँ।”
राष्ट्रपतिको स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य रहँदा आजै बेलुकासम्म डिस्चार्ज गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ। यद्यपि, स्वास्थ्य समस्याको कारणबारे भने विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।













