फ्रान्समा राजनीतिक हलचलबीच म्याक्रोंद्वारा लेकोर्नू पुनः प्रधानमन्त्री नियुक्त
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले हालै राजीनामा दिएका सेबास्टियन लेकोर्नूलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
म्याक्रोंले देशको बढ्दो राजनीतिक र आर्थिक संकट व्यवस्थापन गर्न अनुभवी नेतृत्व आवश्यक भएको भन्दै लेकोर्नूलाई पुनः सरकार गठन गर्ने जिम्मेवारी दिएका हुन्।
लेकोर्नूले प्रधानमन्त्रीमा नियुक्त भएको २६ दिनमै राजीनामा दिएका थिए। तर लामो राजनीतिक छलफल र सरकार गठनमा देखिएको जटिलतापछि म्याक्रोंले उनलाई पुनः नेतृत्वका लागि रोजेका हुन्।
सोमबार राजीनामा दिएपछि म्याक्रोंमाथि संसद् भंग गर्न र राष्ट्रपतिका रूपमा पदत्याग गर्न माग उठेको थियो। तर, उनले ती माग अस्वीकार गर्दै नयाँ सरकार गठन गर्ने घोषणा गरेका थिए।
उनले नयाँ सरकारले नवप्रवर्तन, सीप र विविधतालाई प्राथमिकता दिने प्रतिज्ञा गरेका छन्। साथै, उनले मन्त्रिपरिषद्मा सामेल हुने सबै सदस्यले सन् २०२७ को राष्ट्रपति चुनावमा व्यक्तिगत महत्वाकांक्षा त्याग्नुपर्ने सर्त पनि अघि सारेका छन्।













