नेपाल सुपर सिक्समा प्रवेश: जापानमाथि पाँच विकेटको प्रभावशाली जित

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल सुपर सिक्समा प्रवेश: जापानमाथि पाँच विकेटको प्रभावशाली जित

काठमाडौ । आइसिसी टी२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले जापानलाई पाँच विकेटले पराजित गर्दै समूहबीविजेताको रूपमा सुपर सिक्समा प्रवेश गरेको छ।

ओमानको अल अमेरतस्थित क्रिकेट एकेडेमी टर्फ१ मैदानमा शुक्रबार सम्पन्न खेलमा नेपालको प्रदर्शन सशक्त रह्यो।

टस हारेर फिल्डिङमा उत्रिएको नेपालले जापानलाई निर्धारित २० ओभरमा आठ विकेटमा सीमित गर्दै १३१ रनमा रोकेको थियो।

जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले ४६ बलमा पाँच चौका र तीन छक्कासहित सर्वाधिक ६० रन बनाए भने इसाम रहमानले ३१ र बेन्जामिन इटो डेभिसले १७ रन जोडे।

नेपालका बलरहरू प्रभावशाली रहे -गुल्शनकुमार झा र सन्दीप लामिछानेले समान दुईदुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान एकएक विकेट हात पारे।

१३२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। नेपालका ओपनर आसिफ शेखले सशक्त ब्याटिङ गर्दै ३८ रन बनाए।

त्यसैगरी गुल्शन झा २८ रनमा अविजित रहे भने कुशल भुर्तेलले २१, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले अविजित १४ रनको योगदान गरे।

जापानका बलर शोम स्लाटले दुई विकेट लिए भने सबौरिश रविचन्द्रन र डेक्लन सुजुकी म्याककोम्बले एकएक विकेट हात पारे।

यो जितसँगै नेपालले समूह चरणका दुवै खेल जित्दै चार अंकसहित शीर्ष स्थानमा रहँदै सुपर सिक्समा प्रवेश गरेको छ। जापान पनि दुई अंकका साथ उपविजेताका रूपमा अर्को चरणमा पुगेको छ।

नेपाल अब सुपर सिक्स चरणमा क्षेत्रीय स्तरका बलिया टोलीहरूसँग भिड्नेछ, जहाँ प्रत्येक खेल आगामी टी२० विश्वकपको यात्रामा निर्णायक हुनेछ।