एमालेमा नेतृत्व संकट : ओलीलाई मार्ग प्रशस्त गर्न नेताहरूको दबाब
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमाले भित्र नेतृत्व परिवर्तनको आवाज तीव्र बनेको छ। शुक्रबार गुन्डुमा बसेको पार्टी सचिवालय बैठकमा शीर्ष नेताहरूले अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।
बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा नै माग गर्दै पुरानो नेतृत्वले अब जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने धारणा राखिन्। उनले भनिन्, “अब नयाँ पुस्ताले पार्टीको भविष्य निर्माण गर्नुपर्छ, पुराना नेताहरूले सम्मानपूर्वक बिदा लिनुपर्छ।”
त्यस्तै, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि पार्टी पुनर्गठन आवश्यक रहेको बताउँदै नेतृत्वमा नयाँ दृष्टिकोण र कार्यशैली ल्याउनुपर्नेमा जोड दिए। उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले समेत ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको एक सचिवालय सदस्यले जानकारी दिए।
सचिवालय बैठकमा नेताहरूबीच संसद् पुनर्स्थापना वा नयाँ निर्वाचनको विषयमा पनि तीव्र बहस भएको छ। एक नेताका अनुसार, “बैठकमा आ–आफ्ना धारणा खुलेर राखिएको छ। निष्कर्ष निकाल्ने चरणमा पुग्न बाँकी छ, तर बहस निर्णायक दिशातर्फ उन्मुख छ।”
बैठक शनिबार पनि बस्नेछ। सो बैठकले पार्टीको महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी गरेको स्रोतले जनाएको छ। सचिवालयको प्रस्तावपछि मिति केन्द्रीय कमिटीको बैठक असोज २९–३१ बाट अन्तिम रूपले तोकिनेछ।
एमालेभित्र पछिल्ला महिनाहरूमा असन्तुष्टि बढ्दै आएको छ। नेताहरूको धारणा अनुसार, अब पार्टीलाई एकीकृत र सशक्त बनाउन पुरानो शैलीभन्दा फरक नेतृत्व आवश्यक छ। ओलीको राजनीतिक भविष्य पनि यही निर्णयले निर्धारण गर्ने सम्भावना देखिएको छ।













