राष्ट्रपतिद्वारा निर्वाचनमै समाधान खोज्न दलहरूलाई आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रपतिद्वारा निर्वाचनमै समाधान खोज्न दलहरूलाई आग्रह

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताउँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा पूर्ण रूपमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

शुक्रबार शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपतिले शान्तिसुरक्षाको पक्का प्रबन्ध गर्दै निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने विश्वास नागरिकमा दिलाउन सरकारलाई सुझाव दिएका थिए।
बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने दलहरू सधैं निर्वाचनका पक्षमा रहेको बताउँदै भने, अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुनेमा शंका र संसय पैदा गरेको बताएका थिए।

उनीहरूले सरकारलाई उक्त शंका हटाई विश्वसनीय र भयरहित निर्वाचन वातावरण निर्माण गर्न आग्रह गरे।

बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी थिए।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल, जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेमकिपा लगायतका दलका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।