स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्कीको भनाइ

User Image Prime TV News एक महिना अगाडि
Image of स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्कीको भनाइ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छन्।

शुक्रबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा बसेको सर्वदलीय बैठकपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालएक्स’ (पूर्व ट्विटर) मार्फत सरकारको धारणा सार्वजनिक गरेकी हुन्।

उनले लेखेकी छन्, “राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहितको सर्वदलीय बैठक सम्पन्न भयो। सरकारलाई दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा पूर्ण जानकारी छ। स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सरकारले आवश्यक शान्तिसुरक्षाको प्रबन्ध गर्नेछ।

यसअघि राष्ट्रपतिद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले निष्पक्ष र स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका थिए।

प्रतिउत्तरमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलहरूको सक्रिय सहभागिता र सहकार्यबिना निर्वाचन सम्भव नहुने कुरा स्पष्ट पार्दै सरकार त्यसका लागि पूर्ण रूपमा तत्पर रहेको बताइन्।

उनले थपिन्, “जेनजी समूह हाम्रा छोरानाति हुन्। उनीहरूले किन असन्तुष्टि प्रकट गरिरहेका छन् भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्नुपर्ने समय आएको छ। राजनीतिक दलहरूले यही अनुसार अघि बढे देश र जनताको हित हुनेछ।

प्रधानमन्त्री कार्कीको भनाइ अनुसार सरकारले आगामी निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र जनताको भरोसामाथि आधारित बनाउन सम्पूर्ण तयारी अघि बढाइरहेको छ।