रास्वपाले उम्मेदवार चयन प्रक्रिया सुरु गर्दै, संवाद समितिको संयोजन वाग्लेलाई
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने भएको छ। पार्टी सचिवालयको बैठकले उम्मेदवार छनोटको कार्यविधि तयार गर्ने जिम्मेवारी सहमहामन्त्री विपीनकुमार आचार्यलाई दिएको छ।
एकीकृत निर्वाचन रणनीतिअन्तर्गत तयार गरिने कार्यविधिमा प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा पालिका तहसम्मका संरचनाबाट सुझाव संकलन गरी मस्यौदा बनाउने भएको छ । त्यसका लागि प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोग प्रतिनिधि सहभागी रहने गरी सुझाव संकलन कार्यदल गठन गरिएको रास्वपाले जनाएको छ ।
सात दिनको अवधिमा सुझाव संकलन कार्य सम्पन्न गर्ने निर्णय पनि रास्वपाले गरिएको छ। कार्यदलको प्रतिवेदनका आधारमा पार्टीले आगामी १५ कात्तिकभित्र उम्मेदवारी आव्हान प्रक्रिया थाल्ने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
यससँगै पार्टीले उपसभापति डा. स्वर्णिम वाग्लेलाई उच्च संवाद समितिको संयोजक तोकेको छ। वाग्लेले राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धन गर्न सामाजिक तथा राजनीतिक समूहसँग उच्चस्तरीय संवाद गर्ने जिम्मेवारी पाएका छन्।
प्रवक्त झाका अनुसार, पार्टीले विभिन्न समिति र संयन्त्रहरूलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य तथा राष्ट्रिय निकासको वातावरण निर्माण गर्ने लक्ष्य लिएको छ।













