पूर्वगमन्त्री लेखकको स्पष्टीकरण: भदौ २३ को प्रदर्शनमा बल प्रयोगको आदेश दिएको छैन

User Image Prime TV News एक महिना अगाडि
Image of पूर्वगमन्त्री लेखकको स्पष्टीकरण: भदौ २३ को प्रदर्शनमा बल प्रयोगको आदेश दिएको छैन

काठमाडौ । तत्कालीन गृहमन्त्री रमेश लेखकले भदौ २३ गते भएका प्रदर्शनमा सरकारको तर्फबाट बल प्रयोगको कुनै आदेश नदिएको स्पष्ट पारेका छन्।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनमा काठमाडौँमा मात्रै १७ जनाको मृत्यु भएको थियो। नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै लेखकले घटनाप्रति आफू गहिरो दुःखी रहेको बताएका छन्।

उनले भने, “प्रधानमन्त्री जोसुकै होउन्, गृहमन्त्रीले बल प्रयोगको आदेश दिन्छ भन्ने कुरा सधैं सही हुँदैन। त्यो दिन प्रधानमन्त्री र मेरो तर्फबाट कुनै बल प्रयोगको आदेश दिइएको थिएन।”

प्रदर्शनका क्रममा केही ठाउँमा सरकारी र निजी संरचनामा आगजनी र तोडफोड भएका घटनाप्रति दुःख व्यक्त गर्दै लेखकले तत्कालीन जिम्मेवारीबाट राजीनामा दिएको पनि जानकारी गराए। “मानव जीवनको क्षति अपूरणीय हुन्छ,” उनले भने, “त्यसैले मैले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएको हुँ।”

भदौ २३ गतेको घटनाले देशभर चर्को बहस र विरोध सिर्जना गरेको थियो। प्रदर्शनमा युवा पुस्ताको सक्रियता, प्रहरीको प्रतिक्रिया, र त्यसको नतिजास्वरूप भएको मानव क्षतिले सरकारको भूमिका र निर्णयमाथि प्रश्न उठाएका छन्। हालसम्म उक्त घटनासम्बन्धी उच्चस्तरीय छानबिनको माग भइरहेको छ भने नागरिक समाज र अधिकारकर्मीहरूले दोषीलाई कडा कारबाहीको माग गरिरहेका छन्।