इजरायलले अमेरिकी मध्यस्थतामा तयार भएको युद्धविराम योजना अनुमोदन

User Image Prime TV News एक महिना अगाडि
Image of इजरायलले अमेरिकी मध्यस्थतामा तयार भएको युद्धविराम योजना अनुमोदन

काठमाडौ । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी प्रस्तावित योजना अनुमोदन गरेको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले सोमबार जारी विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको हो।

प्रधानमन्त्री नेतन्याहूले यो सम्झौतोलाईऐतिहासिक विकासभन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति आभार व्यक्त गरेका छन्। उनले इजरायली मन्त्रिपरिषद्को बैठकमा उपस्थित अमेरिकी दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरलाई पनि धन्यवाद ज्ञापन गरेका छन्।

राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुन सक्ने बताएका छन्। इजिप्टको मध्यस्थतामा इजरायल र हमासबीच यसअघि नै सम्झौताको पहिलो चरणमा सहमति भएको थियो।

सम्झौता अनुसार इजरायलले सयौँ प्यालेस्टाइनी कैदीलाई रिहा गर्नेछ। साथै, गाजाबाट इजरायली सेनाको केही भाग फिर्ता हुनेछ र दैनिक सयौँ ट्रक मानवीय सहायता गाजामा प्रवेश गर्नेछ।

इजरायली सञ्चारमाध्यमका अनुसार युद्धविराम मन्त्रिपरिषद्को स्वीकृति पाएको २४ घण्टाभित्र लागू हुनेछ। पहिलो चरणमा इजरायली सेना गाजा पट्टीको करिब ५३ प्रतिशत भूभागमा सीमित हुनेछ।

सम्झौताअनुसार, युद्धविराम लागू भएपछि ७२ घण्टाको अवधिमा हमासले जीवित रहेका सबै २० जना बन्धकलाई रिहा गर्नुपर्नेछ। त्यसपछि, मृत्यु भइसकेका २८ जना इजरायली बन्धकहरूको शव फिर्ता गरिनेछ।

बदलामा इजरायलले आजीवन कारावास भोगिरहेका करिब २५० प्यालेस्टाइनी कैदी र गाजाबाट पक्राउ परेका १७ सय जना कैदीलाई रिहा गर्नेछ। साथै, प्रत्येक एक इजरायली बन्धकको शवको बदलामा १५ जना गाजावासीको शव फिर्ता गरिनेछ।

इजरायलले सम्झौता अनुमोदन गरेसँगै गाजामा तत्काल युद्धविराम, सैनिक फिर्ता, बन्धक र शवको आदानप्रदान तथा मानवीय सहायता प्रवेश सुरु हुने अपेक्षा गरिएको छ।