इलाम जिल्ला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

User Image Prime TV News एक महिना अगाडि
Image of इलाम जिल्ला तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौ । हालैको बाढी र पहिरोबाट ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको इलाम जिल्लालाई सरकारले तीन महिनाकालागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बैठकपछि पत्रकार सम्मेलनमार्फत इलाममा बाढीपहिरोका कारण उत्पन्न संकटको अवस्था गम्भीर रहेको भन्दै यस्तो निर्णय गरिएको जानकारी दिए।

गत साता देखिएको अविरल वर्षापछिको बाढी र पहिरोबाट इलाम जिल्लामा अहिलेसम्म ३९ जनाको ज्यान गएको पुष्टि भएको छ। त्यस्तै, कयौं मानिस घाइते भएका छन् भने केही अझै बेपत्ता छन्। बाढीपहिरोका कारण घर, सडक, पुल, विद्यालयजस्ता भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। विद्युत् आपूर्ति, खानेपानी तथा सञ्चार सेवा पनि अवरुद्ध भएका छन् भने जनजीवन थप कष्टकर बनाएको छ।

संकटग्रस्त क्षेत्र घोषणा भएसँगै इलाममा उद्धार, राहत र पुनःस्थापनाका कार्यहरूलाई प्राथमिकता दिइने बताइएको छ। सरकारले प्रभावित क्षेत्रहरूमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र आवश्यक जनशक्ति परिचालन गरिरहेको छ भने स्थानीय तह तथा गैरसरकारी संस्थाहरूको समेत सहकार्यमा राहत वितरण भइरहेको छ।