जेनजी शहीद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग
Prime TV News एक महिना अगाडि 
काठमाडौ । जेनजी शहीद परिवारले सरकार समक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहिबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरुलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरुको उपस्थिति क्याविनेटमा जरुरी भएको बताएका हुन् ।
शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री शुसिला कार्कीदेखि विभिन्न जेन्जे समूह कसैले पनि आफूहरुलाई वास्ता नगरेको गुनासो गरेका छन् । चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे ।
जेन्जी शहीद परिवार संघर्ष समितिले सरकार समक्ष श्रम तथा रोजगार मन्त्रालयकोलागि शहीद विजय चौधरीको दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीको आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयकोलागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ ।
समितिले सो माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।













