चारजना डीआईजीलाई एआईजीमा बढुवा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । सरकारले नेपाल प्रहरीका चारजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुरवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा पदोन्नति गर्ने निर्णय लिएको हो।
मन्त्रिपरिषद् बैठकपछि सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले पत्रकारहरूलाई जानकारी दिँदै चारैजना डीआईजीको बढुवा निर्णय अनुमोदन गरिएको बताए। उनीहरूलाई विभिन्न स्थानमा जिम्मेवारीसमेत तोकिएको छ।
बढुवा सूचीअनुसार, एआईजी सुशीलसिंह राठौरलाई नेपाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय, नक्सालमा सिफारिस गरिएको छ। उमाप्रसाद चतुरवेदीलाई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको जिम्मेवारी दिइएको छ।
त्यस्तै, हिमालयकुमार श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग अन्तर्गतको प्रहरी महाशाखा, टंगालमा खटाइएको छ। डम्बरबहादुर विकलाई भने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीमा दरबन्दी सिफारिस गरिएको छ।













