सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न, संभावित प्रदर्शन र सुरक्षाको चुनौतीबारे छलफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । मुलुकको समग्र शान्ति सुरक्षाको अवस्थाबारे छलफल गर्न बिहीबार बिहान सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको उक्त बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरू तथा नेपाली सेनाको प्रतिनिधिको सहभागिता रहेको थियो।
बैठकमा विशेष गरी मैतिघर मण्डलामा जेनजीका विभिन्न समूहहरूले आयोजना गर्न लागेको प्रदर्शन र दुर्गा प्रसाईं नेतृत्वको समूहले छठ पर्वपछि गर्ने घोषणा गरेको आन्दोलनबारे गहन छलफल भएको बताइएको छ ।
बैठकमा आगामी दिनहरूमा हुनसक्ने प्रदर्शन, आन्दोलन र त्यसबाट उत्पन्न हुने जोखिमहरूप्रति ध्यान दिँदै सुरक्षाकर्मीहरूको परिचालन, आपतकालीन व्यवस्थापन र सार्वजनिक स्थानहरूमा शान्ति सुव्यवस्था कायम गर्नुपर्ने उपायबारे छलफल भएको जनाइएको छ।
बैठकमा समग्र शान्ति सुरक्षाको पछिल्लो अवस्थाको समिक्षा गर्दै, राष्ट्रव्यापी रूपमा कुनै पनि किसिमको अस्थिरता रोक्न सुरक्षा संयन्त्रलाई चुस्त बनाउन सुझाव दिइएको छ।













