मन्त्री महावीर पुनको तीन निर्देशन: शिक्षा क्षेत्रमा प्रभावकारिता बढाउन जोड

User Image Prime TV News एक महिना अगाडि
Image of मन्त्री महावीर पुनको तीन निर्देशन: शिक्षा क्षेत्रमा प्रभावकारिता बढाउन जोड

काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालय अन्तर्गतका निकायहरूलाई प्रभावकारी र परिणाममुखी ढंगले काम गर्न निर्देशन दिएका छन्। मन्त्री पुनले नास्ट, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र पाठ्यक्रम विकास केन्द्रसम्बन्धी निर्देशन सार्वजनिक गरेका हुन्। सामाजिक स‌ंजालमार्फत निर्देशन सार्वजनिक गर्दै मन्त्री पुनले मन्त्री पुनले  शिक्षा क्षेत्रमा प्रभावकारिता बढाउन जोड दिन तीनवटा निर्देशन दिएको जानकारी दिएका हुन् । 

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा केही दिन अघि दुई घण्टा लामो छलफल र ल्याब अवलोकन गरेका थिए। उक्त क्रममा ३७ करोड बजेटमध्ये २७ करोड प्रशासनिक खर्चमा र मात्र १० करोड अनुसन्धान र नवप्रवर्तनमा खर्च हुने देखिएको भन्दै उनले असन्तोष व्यक्त गरे। उच्चस्तरीय भवन र ल्याबहरू भएको नास्टलाई विश्वस्तरीय अनुसन्धान केन्द्र बनाउने लक्ष्यका साथ, त्यहाँ कार्यरत सबै कर्मचारीहरूलाई एक साताभित्र लिखित सुझाव दिन निर्देशन दिएका छन् । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सम्बोधन गर्दै मन्त्री पुनले शिक्षक दरबन्दी मिलान, न्यून विद्यार्थी संख्या भएका विद्यालयहरू मर्ज गर्ने नीति, योग्य प्रधानाध्यापक नियुक्तिका लागि राष्ट्रिय कार्यविधि निर्माण गर्न निर्देशन दिए। त्यस्तै, अनलाइन सिकाइलाई प्रवर्द्धन गर्न डिजिटल शैक्षिक सामग्री निर्माणमा जोड दिने कार्यक्रम ल्याउन समेत उनले आग्रह गरेका छन्।

यस्तै पाठ्यक्रम विकास केन्द्रसँगको छलफलमा मन्त्री पुनले पाठ्यक्रम विकासमा गम्भीरता अपनाउन, समयमै परिमार्जन र अध्यावधिक गर्न र मातृभाषामा पाठ्यपुस्तक विकासमा सहयोग पुर्‍याउन निर्देशन दिएका छन् । त्यस्तै, पाठ्यक्रममा नैतिक शिक्षा, व्यावहारिक ज्ञान, इतिहास र संविधानसम्बन्धी विषयवस्तु समावेश गर्न उच्च प्राथमिकता दिनुपर्ने मन्त्री पुनको भनाई छ ।