काम गरेर नतिजा देखाउन प्रधानमन्त्रीको निर्देशन छ : अर्थमन्त्री वाग्ले

User Image Prime TV News २ घण्टा अगाडि
Image of काम गरेर नतिजा देखाउन प्रधानमन्त्रीको निर्देशन छ : अर्थमन्त्री वाग्ले

काठमाडौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहले विधिअनुसार काम गर्दै नतिजा देखाउन निर्देशन दिएको बताएका छन्।

आन्तरिक राजस्व विभागमा बिहीबार आयोजित देशभरका कर अधिकृतहरूको भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीको प्राथमिकता व्यक्ति नभई कामको नतिजा रहेको बताए। उनका अनुसार प्रधानमन्त्री शाहले कसलाई नियुक्त गर्ने वा कसलाई जिम्मेवारी दिनेभन्दा पनि सम्बन्धित निकायले विधि र प्रक्रियाअनुसार काम गरी परिणाम दिनुपर्नेमा जोड दिएका छन्।

सोही अवधारणालाई आफूले अर्थ मन्त्रालयमा पनि लागू गरेको उनले बताए। अर्थमन्त्री वाग्लेले कर्मचारीको सरुवा, बढुवा तथा नियुक्तिमा राजनीतिक पहुँच, शक्ति केन्द्र वा सिफारिसको प्रभाव स्वीकार नगर्ने स्पष्ट पारे। विगतमा सरुवाका लागि राजनीतिक नेताको पहुँच खोज्ने प्रवृत्तिले प्रशासनिक प्रणाली कमजोर बनेको उल्लेख गर्दै अब त्यस्तो अभ्यास अन्त्य गरिने बताए।

उनले कुनै पनि नियुक्ति वा निर्णय योग्यता, क्षमता र निष्पक्ष मूल्याङ्कनका आधारमा मात्र हुने बताए। राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले लबिङ नगर्ने योग्य व्यक्तिलाई नियुक्त गरिएको उल्लेख गरे।

राजस्व प्रशासन सुधार र कर्मचारीको मनोबल बढाउन आफू देशभरका कर तथा भन्सार कार्यालयको स्थलगत अनुगमनमा जाने प्रतिबद्धता पनि उनले व्यक्त गरे। कर्मचारीका समस्या, सुझाव र गुनासो प्रत्यक्ष रूपमा सुन्न आफू तयार रहेको बताउँदै आवश्यक परे मन्त्रालयमा सिधै सम्पर्क गर्न आग्रह गरे।

प्रणाली सुधार र सुशासन प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले अनियमितता वा भ्रष्टाचारका घटना भए प्रमाणसहित जानकारी गराउन कर्मचारीलाई निर्देशन दिए। उनले सरकारको प्राथमिकता व्यक्ति होइन, सुशासन र परिणाममुखी कार्यसम्पादन रहेको दोहोर्‍याए।