विश्वकप लिग–२: पहिलो जितको खोजीमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

User Image Prime TV News ५८ मिनेट अगाडि
Image of विश्वकप लिग–२: पहिलो जितको खोजीमा आज नेदरल्यान्ड्ससँग भिड्दै नेपाल

काठमाडौ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।

खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुनेछ। शृंखलाको पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपाल आज पहिलो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

लगातार प्रतिस्पर्धात्मक बनेको लिग–२ मा नेपालको लागि यो खेल महत्वपूर्ण मानिएको छ। नेपालले यस शृंखलामा जुलाई २७ मा पुनः नामिबियासँग र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध अर्को खेल खेल्ने तालिका छ।

हालसम्म लिग–२ मा २९ खेलबाट २४ अंक जोडेको नेपाल अंकतालिकाको पाँचौँ स्थानमा रहेको छ। समान २९ खेलबाट २४ अंक नै बनाएको नामिबिया रनरेटका आधारमा छैटौँ स्थानमा छ। २८ खेलबाट ३२ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छ।

अंकतालिकाको शीर्ष स्थानमा अमेरिका ४३ अंकसहित रहेको छ भने स्कटल्यान्ड ३८ अंकका साथ दोस्रो स्थानमा छ। ओमान ३१ अंकसहित चौथो स्थानमा छ।

नेपालले शीर्ष चारमा पुग्ने सम्भावना कायम राख्न बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने अवस्था छ। क्यानडा २४ अंकसहित सातौँ स्थानमा रहेको छ भने युएई १४ अंकसहित पुछारमा छ।