आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटमा नेपालको विजयी सुरुआत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । आईसीसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा नेपालले उत्कृष्ट सुरुआत गर्दै कुवेतलाई ५८ रनले पराजित गरेको छ।
पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रनको प्रतिस्पर्धी योगफल तयार गर्यो।
नेपालका ओपनर कुशल भुर्तेलले संयमित र जिम्मेवार ब्याटिङ गर्दै ५६ बलमा ६ चौका र १ छक्कासहित ६६ रन जोडे। उनले इन्निङ्सलाई स्थिरता दिँदै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए।
गुल्सन झाले छोटो तर आक्रमक पारी खेले- ६ बलमा २० रन जोडी अन्तिम ओभरहरूमा नेपाललाई उकासे। अन्य खेलाडीहरूबाट ठूला योगदान नआए पनि कप्तान रोहित पौडेल (१६ रन) र दीपेन्द्रसिंह ऐरी (१९ रन) ले सानो सहयोग पुर्याए।
बलिङतर्फ नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई–दुई विकेट लिए भने नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एक–एक विकेट जोडे।
बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले कुवेतलाई १८ ओभर १ बलमा मात्र ८३ रनमा रोक्न सफल भयो। कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए भने अन्य ब्याटरहरू नेपाली बलरहरूको नियन्त्रणमा रहे।
यस जितसँगै नेपालले प्रतियोगितामा बलियो सन्देश दिएको छ। अब नेपालले समूह चरणको अन्तिम खेल शुक्रबार जापानसँग खेल्नेछ।













