गगन थापालाई एक्लै चलाउने रोग लागेको छ : प्रकाशशरण महत
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशशरण महतले पार्टी सभापति गगनकुमार थापामाथि एक्लै निर्णय गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन्।
काठमाडौंस्थित प्रज्ञा भवनमा बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै महतले पार्टी नेतृत्वले सबैलाई साथमा लिएर अघि बढ्नुपर्ने बताएका हुन्। उनले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले समेत महत्त्वपूर्ण निर्णयअघि सहकर्मीहरूसँग परामर्श गर्ने गरेको स्मरण गरे।
“गिरिजाबाबुले समेत ‘मलाई यस्तो लागेको छ, के गर्ने हो तिमीहरू भन’ भन्नुहुन्थ्यो। तर आज सबैलाई एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ,” महतले भने। उनले देशको प्रधानमन्त्रीदेखि सत्तारूढ दलको नेतृत्वसम्म एकल निर्णय गर्ने प्रवृत्ति देखिएको टिप्पणी गर्दै विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगनकुमार थापामा पनि त्यही प्रवृत्ति देखिएको आरोप लगाए।
महतले नेपाली कांग्रेसको मूल विचार सबैलाई समेटेर र सहमतिका आधारमा अघि बढ्ने रहेको उल्लेख गर्दै पार्टीको विधि र सिद्धान्त सामूहिक नेतृत्वमा आधारित भएको बताए। “नेपाली कांग्रेसको विचार यस्तो होइन। नेपाली कांग्रेसको विधि सबैलाई जोडेर अघि बढ्ने हो, त्यही नै हाम्रो विचार हो,” उनले भने।







