६ दिनको लगातार वृद्धिपछि नेप्सेमा करेक्सन, परिसूचक १३.९५ अंक घट्यो

User Image Prime TV News एक घण्टा अगाडि
Image of ६ दिनको लगातार वृद्धिपछि नेप्सेमा करेक्सन, परिसूचक १३.९५ अंक घट्यो

काठमाडौ । अघिल्ला ६ कारोबार दिन लगातार बढेको सेयर बजार बुधबार घटेको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.९५ अंकले घटेर २७१२ अंकमा झरेको छ। बुधबार दिनभर बजार दबाबमा रह्यो। दिउँसो १२:५४ बजे नेप्से २६९४ अंकसम्म झरेको थियो, जुन दिनको न्यूनतम विन्दु हो। गत साताको मंगलबारदेखि मंगलबारसम्म बजार लगातार बढेर बन्द भएको थियो।

बुधबार ७७ कम्पनीको सेयर मूल्य बढ्दा १९३ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ५ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ।

समूहतर्फ अधिकांश परिसूचक घटेका छन्। फाइनान्स समूह ०.४९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.४५ प्रतिशतले बढ्दा अन्य सबै समूह ओरालो लागेका छन्। व्यापार समूह सबैभन्दा धेरै २.६० प्रतिशतले घटेको छ।

त्यस्तै बैंकिङ समूह ०.२७, विकास बैंक ०.२४, होटल तथा पर्यटन ०.३१, जलविद्युत् ०.५७, लगानी ०.५०, जीवन बीमा ०.६५, लघुवित्त ०.४२, निर्जीवन बीमा १.२६ र अन्य समूह ०.९८ प्रतिशतले घटेका छन्। हालै सूचीकृत भएको एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै बुंगल हाइड्रोपावर १०.५०, सालपा विकास बैंक ५.९२, पियोर इनर्जी ५.२३ र श्रीनगर एग्रिटेक ४.३२ प्रतिशतले बढेका छन्।

घट्ने कम्पनीतर्फ गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ३.९२ प्रतिशत र दिव्यश्वरी हाइड्रोपावरको ३.६७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स र सिटी होटल बढी कारोबार भएका कम्पनीमा परेका छन्।