कीर्तिपुर कार आगलागीमा चालक श्रेष्ठले नै आगो लगाएको प्रहरी निष्कर्ष

User Image Prime TV News ५८ मिनेट अगाडि
Image of कीर्तिपुर कार आगलागीमा चालक श्रेष्ठले नै आगो लगाएको प्रहरी निष्कर्ष

काठमाडौ । मंगलबार बिहान काठमाडौंको कीर्तिपुरस्थित ट्याङ्लाफाँटमा भएको कार आगलागी घटनामा चालक सुरेशचन्द्र श्रेष्ठले नै नियतपूर्वक आगो लगाएको प्रहरी निष्कर्षमा पुगेको छ।

आगलागी भएको कारको चालक सीटमा ७० वर्षीय श्रेष्ठ मृत फेला परेका थिए। घटनाको अनुसन्धानका क्रममा उनले आफैंले गाडी खाली स्थानमा लगेर पेट्रोल छर्किएर आगो लगाएको खुलेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रहरीका अनुसार काठमाडौं नरदेवीका स्थायी बासिन्दा श्रेष्ठ पछिल्लो समय कीर्तिपुरको ग्रीन उड भिल्लामा बस्दै आएका थिए। मेडिकल व्यवसायमा घाटा भएपछि उनी मानसिक तनावमा रहेको र समय–समयमा अस्वाभाविक व्यवहार देखाउने गरेको पारिवारिक स्रोतले जनाएको छ।

कोभिड संक्रमणकालमा श्रेष्ठले विदेशबाट स्वास्थ्य सामग्री आयात गरेका थिए। तर बजारबाट रकम उठ्न नसकेपछि ऋण बढेको र त्यसको ब्याजसमेत तिर्न कठिन अवस्था बनेपछि उनी तनावमा रहेको परिवारका सदस्यहरूले प्रहरीलाई बताएका छन्।

अनुसन्धानका क्रममा मंगलबार बिहान श्रेष्ठले आफैं गाडी चलाएर ट्याङ्लाफाँटस्थित सुम्लाङकोटको खाली क्षेत्रमा पुर्‍याई पार्किङ गरेको र गाडीभित्रै पेट्रोल छर्किएको देखिएको प्रहरीले जनाएको छ। सीसीटीभी फुटेजमा एक प्रत्यक्षदर्शीले गाडीको ढोका खोलेर उद्धार गर्ने प्रयास गरेको देखिएको प्रहरीले जनाएको छ।

तर आगो लागेपछि उनी पछि हटेका थिए। ढोका खुलिसक्दा पनि चालक सीटमा रहेका श्रेष्ठ बाहिर ननिस्किएको र आगो निभाएपछि उनी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त कार २०६२ सालमा खरिद गरिएको थियो। यातायात व्यवस्था कार्यालयको अभिलेखअनुसार गाडी सुरेशचन्द्र श्रेष्ठ र रजनी श्रेष्ठको नाममा दर्ता रहेको छ।