कांग्रेस नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार जारी
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था जटिल बनेको छ।
प्याङक्रियाजको क्यान्सरबाट पीडित श्रेष्ठको पछिल्लो स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको उनका छोरा सम्पूर्ण श्रेष्ठले जानकारी दिएका छन्। प्याङक्रियाजमा समस्या देखिएपछि श्रेष्ठले नेपालका विभिन्न अस्पतालमा उपचार गराएका थिए।
त्यसपछि गत वर्ष भारतको दिल्लीस्थित एपोलो अस्पतालमा समेत उनको उपचार भएको थियो। त्यहाँ उनलाई क्यान्सरको उपचारअन्तर्गत किमोथेरापी दिइएको थियो। करिब तीन महिना उपचारपछि नेपाल फर्किएका श्रेष्ठको स्वास्थ्यमा क्रमशः समस्या देखिँदै गएको परिवारले जनाएको छ।
पछिल्लो ९–१० दिनदेखि उनलाई ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। छोरा सम्पूर्ण श्रेष्ठका अनुसार यसअघि हरिसिद्धी र मेडिसिटी अस्पतालमा पनि उपचार गरिएको थियो। पछिल्लो समय हेलियस अस्पतालको आईसीयूमा उपचार भइरहेको र चिकित्सकहरूले अवस्था गम्भीर रहेको जानकारी दिएको उनले बताए।
गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका पुराना नेतामध्ये एक हुन्। उनले पार्टीको कार्यवाहक सभापति र उपसभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। राजाको प्रत्यक्ष शासनकालमा तत्कालीन कांग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा जेल परेपछि श्रेष्ठले पार्टीको नेतृत्व सम्हालेका थिए।







