जेनजी प्रदर्शनपछि आएको परिवर्तनबारे विश्वलाई तथ्यगत सन्देश दिन प्रधानमन्त्रीको निर्देशन

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजी प्रदर्शनपछि आएको परिवर्तनबारे विश्वलाई तथ्यगत सन्देश दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित ४४ वटा नेपाली नियोगका प्रमुखहरूसँग बुधबार भर्चुअल बैठक गर्दै हालको राजनीतिक परिस्थिति, आगामी निर्वाचन तथा अर्थतन्त्र पुनर्जीवनका विषयमा निर्देशन दिएकी छिन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री कार्कीले जेनजी प्रदर्शनपछि देशमा आएको राजनीतिक परिवर्तनलाई अन्तर्राष्ट्रिय समुदायमा स्पष्ट रूपमा जानकारी गराउन नियोग प्रमुखहरूलाई निर्देशन दिइन्।

प्रधानमन्त्रीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई सहज र विश्वसनीय बनाउनेतर्फ सहयोग जुटाउन आग्रह गरिन्। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूलाई सहज वातावरण उपलब्ध गराउन समेत उनले नियोग प्रमुखहरूलाई जिम्मेवारी दिइन्।

विदेशमा रहेका नेपालीलाई निर्वाचनमा सहभागी गराउने सम्भावनाबारे अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्ने समेत निर्देशन दिइन ।लामो समयदेखि उठ्दै आएको प्रवासी नेपालीको मतदान अधिकारबारे यो निर्देशन महत्वपूर्ण मानिएको छ।

यस्तै प्रधानमन्त्रीले पुनर्निर्माण कोषमा सहयोग जुटाउन आग्रह गरिन्। जेनजी प्रदर्शनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणका लागि सरकारद्वारा स्थापना गरिएको कोषमा सम्बन्धित मुलुकमा रहेका नेपाली समुदाय र विदेशी दाताहरूमार्फत योगदान संकलन गर्न उनले निर्देशन दिइन्।

पर्यटन पुनर्जीवनलाई उठाउँदै प्रधानमन्त्रीले हाल पर्यटन क्षेत्रमा देखिएको गिरावटप्रति चिन्ता व्यक्त गरेकी थिइन । गत वर्ष अक्टोबरमा ७० प्रतिशत रहेको होटल बुकिङ यस वर्ष ३० प्रतिशतमा झरेको तथ्यांक सार्वजनिक गर्दै उनले नियोगहरूलाई नेपाल सुरक्षित र खुला रहेको सन्देश विदेशमा प्रभावकारी रूपमा पुर्‍याउन आग्रह गरिन्।