सरकारलाई चेतावनी दिँदै डा. गोविन्द केसीले साउन ७ देखि पुनः सत्याग्रह गर्ने
Prime TV News एक घण्टा अगाडि 
काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै आगामी साउन ७ गतेदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्।
दार्चुलाबाट बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको प्रभावबाट मुक्त गर्नुपर्ने माग राखेका छन्। उनले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक सेवा हुनुपर्ने बताएका छन्।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था गरे पनि सरकारले त्यसको कार्यान्वयनमा आवश्यक पहल नगरेको उनको आरोप छ। डा. केसीले न्यूनतम मापदण्ड पूरा नगरेका निजी मेडिकल, डेन्टल र नर्सिङ कलेजहरूको प्रभाव नीति निर्माणदेखि सार्वजनिक संस्थाको नेतृत्व चयनसम्म देखिएको दाबी गरेका छन्।
सरकार निजी मेडिकल क्षेत्रको स्वार्थबाट प्रभावित भएको आरोप लगाउँदै उनले चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयहरूमा स्वार्थ बाझिने व्यक्तिहरूलाई जिम्मेवारी दिइएको बताएका छन्।सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीका कारण ग्रामीण स्वास्थ्य सेवा सञ्चालन भइरहेको उल्लेख गर्दै डा. केसीले छात्रवृत्ति सिट घटाउने र पूर्वाधार नपुगेका निजी कलेजमा सशुल्क सिट बढाउने नीतिले भविष्यमा सरकारी स्वास्थ्य संस्थामा चिकित्सक अभाव हुने चेतावनी दिएका छन्।
उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाउँदै निश्चित व्यक्तिलाई नियुक्त गर्ने उद्देश्यसहित प्रक्रिया अघि बढाइएको आरोप लगाएका छन्। गेटा मेडिकल कलेजको विषयमा पनि असन्तुष्टि जनाउँदै डा. केसीले लामो संघर्षपछि सञ्चालनको तयारीमा पुगेको संस्थामा राजनीतिक र व्यापारिक स्वार्थअनुसार नयाँ संरचना ल्याउन खोजिएको दाबी गरेका छन्।
डा. केसीले स्वार्थको द्वन्द्व हुने नियुक्ति तत्काल खारेज गर्न, चिकित्सा शिक्षा आयोगमार्फत छात्रवृत्ति कटौती र निजी कलेजमा सिट वृद्धि गर्ने निर्णय फिर्ता लिन, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने कानुनी व्यवस्था कार्यान्वयन गर्न तथा विगतका सम्झौता लागू गर्न माग गरेका छन्।
उनले सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रका नागरिकका लागि स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका आधारभूत सेवा विस्तार गर्न तथा भ्रष्टाचार र गम्भीर अपराधका घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्। डा. केसीका अनुसार माग सम्बोधनका लागि सरकारले ५ साउनसम्मको समय पाएको भए पनि कुनै प्रतिक्रिया नआएकाले साउन ७ गतेदेखि सत्याग्रह सुरु गर्ने निर्णय गरिएको हो।
उनले विज्ञप्तिमा जनताको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षा सुधारप्रति सरकारले देखाएको असंवेदनशीलताका कारण पुनः सत्याग्रहमा जान बाध्य भएको उल्लेख गर्दै त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।







