शेयर धितो कर्जाको २५ करोड सीमा हटाइयो, लगानीकर्तामा उत्साह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा हटाएको छ। राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै हालसम्म कायम रहेको २५ करोड रुपैयाँको सीमा हटाउने निर्णय गरेको हो।
यसअघि कुनै एक वा सबै इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम सीमा २५ करोड रुपैयाँ तोकिएको थियो।
कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको सुनिश्चित गरेर मात्र कर्जा दिनुपर्ने व्यवस्था थियो। लगानीकर्ताले लामो समयदेखि उक्त सीमा हटाउन माग गर्दै आएका थिए।
पुँजी बजार सुधारका लागि गठित कार्यदलले पनि राष्ट्र बैंकलाई सीमा हटाउने सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्र बैंकले नीति परिवर्तन गरेको हो।
सीमा हटाइएसँगै लगानीकर्ताले थप परिमाणमा शेयर धितो कर्जा लिन सक्ने भएका छन्। यसले बजारमा तरलता वृद्धि हुने र लगानीकर्ताको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। तर, विशेषज्ञहरूले जोखिम व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले विशेष ध्यान दिनुपर्ने चेतावनी दिएका छन्। सीमा हटेपछि ठूलो लगानीकर्ताबाट बजारमा अत्यधिक रकम प्रवेश गरी कृत्रिम मूल्य वृद्धि तथा बजार अस्थिरता देखिने सम्भावना रहेको उनीहरूको बुझाइ छ।
राष्ट्र बैंकले भने जोखिम नियन्त्रणका लागि अन्य नियमनात्मक उपायलाई सुदृढ बनाउँदै लैजाने जनाएको छ।













