बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो, मन्त्रीहरूले आज राजीनामा बुझाउने
Prime TV News ४८ मिनेट अगाडि 
काठमाडौ । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।
बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार पार्टीले मङ्गलबारदेखि लागू हुने गरी सरकारबाट बाहिरिने निर्णय गरेको हो।
सरकारबाट बाहिरिएसँगै एमालेका तर्फबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आज मुख्यमन्त्रीसमक्ष आफ्नो राजीनामा बुझाउने तयारी गरेका छन्।
संसदीय दलका नेता थपलियाले अब मिल्न सक्ने राजनीतिक शक्तिसँग सहकार्य गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइने बताए। उनले नेकपासँग नयाँ सत्ता सहकार्य हुने दाबी पनि गरेका छन्।
यसअघि मङ्गलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भक्तपुरस्थित ओली निवासमा समसामयिक राजनीतिक अवस्था र सत्ता समीकरणबारे छलफल भएको थियो। सोही भेटवार्तापछि बागमती प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ।
एमाले सरकारबाट बाहिरिएपछि बागमती प्रदेशमा नयाँ सत्ता गठबन्धन र सरकार गठनको प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ।







